चौथो दिन सोमबार के के हुँदैछ ?

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ । चौथो दिन सोमबारदेखि  प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ । त्यस्तै नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदैछ । साँझ ७:३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।

दुई नेपाली नाटक

सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ । साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ ।

‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथा बारे बताउँछ । नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ ।

त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन् । रंगमन्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु आउन थाल्नेछन् । यी प्रश्नहरुसँगै दर्शकहरुले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स–साना विवरणहरु याद गर्ने प्रयास यस नाटकले गराउनेछ ।

विशेष कार्यशाला

सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ । ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो । रङ्गमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहनेछ ।

त्यस्तै ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ ।

आइतबार के के भए ?

आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको थियो । क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो ।

त्यस्तै कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावकहरु आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।

आइतबारै साँझ नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।

तस्वीरहरुः रिजन परियार/निटफेस्ट

#nitfest #nitfest2022 #theatrefestival #celebratingdiversity

Organized by
Mandala Theatre Nepal
Strategic Partners
Gowin Production
Encore Media
Diverse Patterns
Accessibilty Partner
British Council Nepal
Supported by
Kathmandu Metropolitan City
Nepal Tourism Board
German Development Coorporation
German Development Coorporation
Civil Peace Project
Venue Partner
Pathshala Foundation
Video Partner
Foto Crystal
Hospitality Partner
Hotel Le Himalaya
Hydration Partner
Jalapa Fresh Drinking Water
Energy Partner
Hunk Energy Drink
Sign Language Partner
Nepal Association of Sign Language Interpreters
Copyright © 2025 All Rights ReservedPrivacy PolicyTerms and Condition
Nepal International Theatre Festival is organized by Mandala Theatre Nepal. Website by Diverse Patterns
magnifiercrosschevron-down