महोत्सव निर्देशकको तर्फबाट समापन मन्तव्य

प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा ज्यू
अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा ज्यू
अतिथि बूढानिलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा ज्यू,
देश विदेशबाट महोत्सवमा सहभागी हुनुभएका रंगकर्मीहरु
सञ्चारकर्मी मित्रहरु
उपस्थित सम्पूर्ण थिएटर प्रेमी महानुभावहरू

नमस्कार तथा न्यानो अभिवादन,

हामीले ९ दिनदेखि निरन्तर रुपमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको यो दोस्रो संस्करणलाई भव्यताका साथ मनायौँ । सामाजिक रुपान्तरणको लागि रंगमञ्चः विविधताको उत्सव भन्ने नाराका साथ १३ देशका १८ नाटकको २५ भन्दा बढी मञ्चन गर्यौं । विविध सन्दर्भ र विषयमा अन्तरक्रिया कार्यक्रम गर्यौं । रंगमञ्चीय विविध विधा र विधिमा कार्यशालाहरुको आयोजना गर्यौँ । यसपल्ट हामीले सुप्रशिद्ध भारतीय अभिनेत्री शबाना आजमीलाई स्वागत गर्दै मास्टर क्लास लिन पायौं । उहाँको सिनेमा र थिएटरका अनुभवलाई नजिकैबाट सुन्न पायौँ ।

सरकारी र गैरसरकारी संयन्त्रलाई महोत्सवको मञ्चमा सँगै राखेर हामीले गरिरहेको कामलाई नजिकैबाट देखाउ पायौं । अनि आगामी दिनमा नयाँ सहकार्यको सम्भावना खोज्ने काम पनि गर्न पायौँ । यसले पक्कै कोभिड १९ को लामो अन्योलपछि पुनः चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नयाँ उर्जा दियो होला भन्ने अपेक्षा गरेको छु ।

यो नाट्य महोत्सवले खासमा के दियो वा यसले के गर्यो भन्ने कुराको छलफल र समीक्षा आगामी दिनमा पनि गर्दै गरौँला । यसका सफलतालाई ग्रहण गर्दै र कमीकमजोरीलाई आगामी दिनमा सुधार्दै जाने नै छौं । यो ९ दिवसीय महोत्सवलाई आयोजना गर्न विगत तीन वर्षदेखि तयारी गर्दै यी ९ दिनमा हामीले जसरी एउटै उद्धेश्यमा सामेल भएर महोत्सवलाई सफल पार्न लागिपर्यौँ । आफ्नो फरक फरक जिम्मेवारीलाई निभाउँदै यसका हरेक पक्षलाई चुस्त राख्यौँ, हामीलाई विश्वास छ यस्तै खाले सहकार्य र सामूहिकताले नेपालको रंगमञ्चलाई समृद्ध बनाउँदै लानेछ । यस्तै गरि हामीले प्रतिनिधित्व गर्ने विविध क्षेत्र, सीप, क्षमता अनि सम्भावनाहरूलाई चुस्त र दुरुस्त बनाउँदै लानुपर्छ ।

महोत्सवका नाटक, छलफल अनि मास्टरक्लासले सिकाएका वा उठाएका कुराहरूलाई यहाँ मात्र नछोडी नेपाली रंगमञ्च र नेपाली समाजमा अगाडि बढाउनुपर्नेछ । मलाई आशा छ यहाँ उपस्थित हामी सबै त्यसको लागि पनि तयार छौँ ।

रंगमञ्च आफैमा सम्पूर्ण कलाहरुको संगम स्थल हो । रंगमञ्चलाई जीवनतर्फ फर्काउनका लागि र जीवनलाई रंगमञ्चतर्फ डोराउनका लागि यस्ता महोत्सवहरुको भूमिका र महत्व अवश्य रहन्छ । समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला, साहित्यको अपरिहार्यतालाई जिम्मेवार निकाय र आम रुपमा पुर्याउन नेपाली रंगमञ्च प्रतिवद्ध छ । हाम्रो यो प्रतिवद्धतामा राज्य स्तरबाट पनि उत्तिकै प्रतिवद्धता र पहलहरु आओस् भन्ने हामी चाहन्छौं । किनकी रंगमञ्च, कला, साहित्य विना समाज विकासित त हुन सक्लान् तर समृद्ध हुन पक्कै सक्दैन ।

हामी मण्डला थिएटर नयाँ ठाउँमा सरेको भर्खर १ वर्ष पुग्दैछ। यो क्रममा यहाँहरूले दिनुभएको विश्वासप्रति आभार व्यक्त गर्दछु ।

अन्तिममा महोत्सवलाई यसरी सफल पार्न लागिपर्ने आयोजक टिमका सम्पूर्ण साथीहरू, स्वयंसेवकहरु, प्रायोजकहरु, सहयोगीहरु, सहभागी नाटक समूहहरु, अतिथिहरु, वक्ता र सहजकर्ताहरु, कार्यशाला संयोजक तथा प्रशिक्षकहरु, सञ्चारमाध्यम र सञ्चारकर्मी मित्रहरु, महोत्सवसम्म आफ्ना पाइतालालाई डोर्याउने रंगप्रेमी, कलाप्रेमीहरु महानुभावहरु सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । रंगमञ्चलाई यहाँहरुले दिनुभएको साथप्रति आभार व्यक्त गर्दछु ।

अहिले यस नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब २०२२ लाई समापन गर्दैछौं । यो समापन अन्त्य होइन, केही समयका लागि बिसौनी मात्र हो । नियमित रुपमा नेपाली रंगमञ्चमा, नाटकघरमा हाम्रो भेट हुने नै छ । फेरि पनि नेपाल अन्तर्राष्टिय नाट्य महोत्सवको तेस्रो संस्करणमा यहाँहरुलाई स्वागत गर्न दुई वर्षपछि आउने नै छौं । धन्यवाद, नमस्कार, शुभरात्री ।

२०७९ मंसिर १७ / Dec. 03, 2022

सिर्जना सुब्बा
महोत्सव निर्देशक, निटफेस्ट २०२२

Organized by
Strategic Partners
Accessibilty Partner
Supported by
Kathmandu Metropolitan City
Nepal Tourism Board
German Development Coorporation
German Development Coorporation
Civil Peace Project
Venue Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/Pathshala-Foundation-Logo.png
Video Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/fotocrystal.jpg
Hospitality Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/lmGG4-logo.png
Hydration Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/Hydration-Partner.jpeg
Energy Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/hydration.jpg
Sign Language Partner
https://nitfest.org/2022/wp-content/uploads/2022/11/nasli.jpg
Copyright © 2024 All Rights ReservedPrivacy PolicyTerms and Condition
Nepal International Theatre Festival is organized by Mandala Theatre Nepal. Website by Diverse Patterns
magnifiercrosschevron-down